रास्वपा संसदीय दलको बैठक भैरहवामा, नेतृत्व र उपनिर्वाचनमा केन्द्रित

२०८२ श्रावण १४, बुधबार १३:२९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज दिउँसो भैरहवामा बस्दैछ। सभापति रवि लामिछाने कारागारमा रहेको र संसदीय दल नेतृत्वविहीन भएको अवस्थामा हुन लागेको यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ। भैरहवास्थित होटल रमादामा दिउँसो १ बजेदेखि ४ बजेसम्म चल्ने बैठकमा सहभागी हुन कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी लगायत अधिकांश सांसद भैरहवा आइपुगेका छन्।

बैठकअघि मंगलबार नेताहरूले कारागारमा रहेका सभापति लामिछानेसँग भेट्ने प्रयास गरे पनि प्रशासनले सामूहिक भेटको अनुमति दिएको थिएन। त्यसपछि कार्यवाहक सभापति अर्याल र सांसद सोविता गौतमले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। भेटमा दलको भावी नेतृत्व, रुपन्देही-३ को उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ।
हाल रास्वपाको संसदीय दल नेतृत्वविहीन छ। दलको नेता चयन बैठकको औपचारिक एजेन्डा नभए पनि यसबारे छलफल हुने निश्चित छ। दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार, बैठकमा समसामयिक राजनीतिक अवस्था, भिजिट भिसा प्रकरण, संसद्मा सरकारको भूमिका र भ्रष्टाचारका मुद्दामा समीक्षा हुनेछ।

बैठक सकिएपछि सांसदहरू हस्ताक्षर अभियानमा सहभागी हुने कार्यक्रम छ। रास्वपाले रुपन्देही-३ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाउँदै साउन २१ गतेसम्म आवेदन माग गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार