काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाग्राहीका गुनासा सुन्न र समाधान गर्न ‘गुनासो व्यवस्थापन इकाई’ स्थापना गर्ने भएको छ । मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले प्रदान गर्ने सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउन यो इकाई गठन गर्न लागिएको हो ।
मन्त्रालयका अनुसार, क्षमता विकास महाशाखा अन्तर्गतको सुशासन शाखाले नै यस इकाईको जिम्मेवारी सम्हाल्नेछ । सेवाग्राहीले मन्त्रालयमा उपस्थित भएर, पत्र पठाएर वा विभिन्न सञ्चारमाध्यममार्फत मौखिक वा लिखित रूपमा आफ्ना गुनासा टिपाउन सक्ने व्यवस्था गरिएको छ । यो इकाईले मन्त्रालयबाट प्रवाह हुने सबै प्रकारका सेवा, प्रक्रिया र त्यसको नतिजासम्बन्धी गुनासाहरूको सम्बोधन गर्नेछ ।
गुनासो समाधानका लागि एक निश्चित प्रक्रिया समेत तोकिएको छ । प्राप्त गुनासालाई सहजकर्ताले तत्कालै समाधान गर्ने प्रयास गर्नेछन् । यदि तत्काल सम्भव नभए, सम्बन्धित शाखामा पठाइनेछ । सम्बन्धित शाखाले पनि समाधान गर्न नसकेको अवस्थामा महाशाखा प्रमुखसँग छलफल गरी तीन दिनभित्र गुनासोको सम्बोधन गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।





