काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आफ्नो वित्तीय प्रदर्शनमा उत्कृष्ट प्रगति हासिल गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार, खुद नाफा, वितरणयोग्य मुनाफा, प्रतिसेयर आम्दानी लगायत अधिकांश सूचकहरूमा आकर्षक सुधार देखिएको छ। विवरणअनुसार, बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा १८९ प्रतिशतले बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४६ करोड ६६ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।
नाफामा भएको वृद्धिसँगै बैंकको वितरणयोग्य मुनाफामा पनि १४९.६४ प्रतिशतको छलाङ आएको छ। अघिल्लो वर्ष २८ करोड ६४ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा बढेर गत वर्ष ७१ करोड ४९ लाख रुपैयाँ पुगेको हो। यसले बैंकको लाभांश वितरण क्षमतामा उल्लेख्य सुधार गरेको छ। अघिल्लो वर्ष ५.०४ प्रतिशत रहेको लाभांश क्षमता बढेर १२.५९ प्रतिशत पुगेको छ, जसले सेयरधनीहरूलाई उच्च प्रतिफलको सम्भावना देखाएको छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष केवल ७.६४ रुपैयाँ रहेको ईपीएस गत वर्ष बढेर २३.०७ रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ६.९६ प्रतिशतले बढेर ९० अर्ब ११ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ७.३२ प्रतिशतले वृद्धि भई ६९ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। यसैगरी, बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ३१ करोडबाट बढेर ३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।
बैंकले आफ्नो सम्पत्तिको गुणस्तरमा पनि सुधार गरेको छ। खराब कर्जा अनुपात ४.८५ प्रतिशतबाट घटेर ४.७२ प्रतिशतमा झरेको छ। साथै, इम्पेयरमेन्ट चार्जका लागि छुट्याउनुपर्ने रकममा भारी गिरावट आएको छ, जसले नाफा बढाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ। अघिल्लो वर्ष १ अर्ब ७१ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्जको व्यवस्था गरेको बैंकले गत वर्ष ५३ करोड ७९ लाख मात्रै छुट्याएको छ।
यस्तै, बैंकको कस्ट अफ फण्ड (कोषको लागत) ६.६४ प्रतिशतबाट घटेर ४.८४ प्रतिशतमा झरेको छ, जसले बैंकको सञ्चालन दक्षता बढेको संकेत गर्छ। विवरणअनुसार, बैंकको प्रतिसेयर नेटवर्थ १६४.१७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.५७ गुणा र तरलता अनुपात २७.४० प्रतिशत रहेको छ।




