काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा ५४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५.६५ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले ५७ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, गत वर्ष कम्पनीले बीमा व्यवसायबाट कुल ४ अर्ब ५३ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। सोही अवधिमा कम्पनीले ग्राहकहरूलाई १ अर्ब ५७ करोड ९९ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ।
हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ८६ लाख रुपैयाँ रहेको छ। यद्यपि, कम्पनीको जीवन बीमा कोष भने उल्लेख्य रूपमा वृद्धि भएको छ। अघिल्लो वर्ष ७ अर्ब ६२ करोड रहेको जीवन बीमा कोष बढेर १० अर्ब १० करोड रुपैयाँ पुगेको छ।
विवरणअनुसार, कम्पनीको प्रतिशेयर आम्दानी ११.२२ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १५४.२३ रुपैयाँ रहेको छ। त्यसैगरी, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ३६४.६० रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४३.७२ गुणा रहेको छ।




