काठमाडौँ । अबदेखि शेयर कारोबारका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा समावेश गर्न सम्पूर्ण शेयर कारोबार सदस्य (ब्रोकर) हरूलाई निर्देशन दिएको छ । नेप्सेले शुक्रबार एक सूचना जारी गर्दै धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) अन्तर्गत ग्राहक पहिचान (केवाईसी) विवरण भर्दा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य प्रविष्ट गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।
नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशनअनुसार केवाईसीलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने तथा त्यसको विवरण विद्युतीय माध्यमबाटै प्राप्त गर्न सक्ने व्यवस्था कार्यान्वयन गर्न लागिएको नेप्सेले जनाएको छ । यो व्यवस्थाले ग्राहक पहिचान र त्यसको सम्पुष्टि गर्न सहज हुने विश्वास लिइएको छ ।
नेप्सेले आफ्नै छुट्टै टीएमएस प्रयोग गरिरहेका कारोबार सदस्यहरूलाई पनि यो व्यवस्था कार्यान्वयनका लागि आवश्यक प्रणालीगत तयारी गर्न निर्देशन दिएको छ ।
यो नयाँ व्यवस्थाले धितोपत्र बजारमा हुने कारोबारमा पारदर्शिता बढाउने र सम्पत्ति शुद्धीकरण निवारण जस्ता प्रयासमा समेत महत्त्वपूर्ण सहयोग पुग्ने नेप्सेको अपेक्षा छ ।




