काठमाडौँ । पर्वतारोहण क्षेत्रमा विदेशी पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यु) गरी बिमा रकम ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंह र ठमेलस्थित रोयल होलिडेज एडभेञ्चरका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी रहेका छन्।
सीआईबीका अनुसार तिवारीलाई मंगलबार र सिंहलाई बुधबार काठमाडौँबाट नियन्त्रणमा लिइएको हो। योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ। यसअघि ट्रेकिङ कम्पनी, रेस्क्यु एजेन्सी, अस्पताल र हेलिकप्टर कम्पनीका सञ्चालकहरू समेत पक्राउ परिसकेका छन्।
उच्च हिमाली क्षेत्रमा पदयात्रामा रहेका पर्यटकहरूको स्वास्थ्यमा समस्या नभए पनि उद्धार गरेको नक्कली कागजात बनाएर विदेशी बिमा कम्पनीबाट गैरकानुनी रूपमा आर्थिक लाभ लिने गरेको अनुसन्धानबाट खुलेको छ। सीआईबीले यस संगठित ठगीबारे थप अनुसन्धान गरिरहेको छ।




