काठमाडौँ । स्याङ्जामा सम्पन्न प्रथम खुमा अर्याल कप टी-ट्वान्टी क्रिकेट लिगको उपाधि गल्याङ नगरपालिकाले जितेको छ । पुतलीबजारस्थित मालेबगर खेलमैदानमा भएको फाइनल खेलमा गल्याङले उपाधिको दाबेदार मानिएको वालिङ नगरपालिकालाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
प्रतिकूल मौसमका कारण ७ ओभरमा छोट्याइएको खेलमा वालिङले दिएको ४० रनको लक्ष्य गल्याङले बिना कुनै विकेटको क्षतिमा ३.१ ओभरमै पूरा गर्यो ।
उपाधिसँगै गल्याङले रनिङ शिल्डसहित नगद २ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको वालिङले १ लाख ५० हजार, तेस्रो भएको चापाकोटले १ लाख र सान्त्वना स्थान हासिल गरेको हरिनाश गाउँपालिकाले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
खुमा अर्याल फाउन्डेसन स्याङ्जाले आयोजना गरेको प्रतियोगिताको समापन समारोहमा पशुपति शर्मा, सम्झना भण्डारीलगायत राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहेको थियो ।




