नेपालको खराब सुरुआत

२०७९ फाल्गुन २८, आईतवार ०५:४४ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृंखलाअन्तर्गत आइतबार नेपालले खराब सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले १० ओभरको समाप्तिमा तीन विकेट गुमाएर ३३ रन बनाएको छ ।

नेपालका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल क्रमशः शून्य र आठ रनमा पभेलियन फर्किए । तेस्रो क्रममा ब्याटिङका लागि आएका कुशल मल्लले पनि नौ रन मात्र जोड्न सके । नेपालले ७.१ ओभरमा २२ रनमै तीन विकेट गुमाएको थियो । लिग–२ को शीर्ष तीनमा रहन नेपाललाई शृंखलाका बाँकी तीनवटै खेलमा जितको दबाब छ । यूएईलाई भने तालिकाको शीर्ष चारमा रहेर एकदिवसीय मान्यता जोगाउने चुनौती छ ।

शृंखलामा नेपाल, यूएई र पपुवा न्युगिनी (पीएनजी) सहभागी छन् । शृंखलामा दुवै टिमको यो दोस्रो खेल हो । नेपालले पहिलो खेलमा पीएनजीलाई ५२ रनले पराजित गरेको थियो । यूएई पहिलो खेलमा पीएनजीसँग ५६ रनले हारेको थियो । लिग–२ अंकतालिकामा ३३ खेलबाट ३४ अंक जोडेको नेपाल पाँचौँ स्थानमा छ । समान खेलबाट ३१ अंक जोडेको यूएई छैटौँ स्थानमा छ । लिग–२ को शीर्ष चारमा रहन यूएईलाई बाँकी तीन खेलमै जित आवश्यक छ । तालिकाको पुछारमा रहेको पीएनजीले ३४ खेलबाट ११ अंक जोडेको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ बाट शीर्ष तीन टिमले आउँदो जुन १८ देखि जुलाई ९ तारिखसम्म जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् । बाँकी चार टिमले मार्च २४ देखि अप्रिल ४ सम्म नामिबियामा हुने आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् । विश्वकप क्वालिफायर प्लेअफमा च्यालेन्ज लिगबाट शीर्ष दुई र लिग–२ को पुछारमा रहेका चार टिमले प्रतिस्पर्धा गर्नेछन् । नामिबियामा हुने विश्वकप क्वालिफायर प्लेअफका शीर्ष दुई टिमले पनि जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् ।

जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा क्वालिफायर प्लेअफका शीर्ष दुई, क्रिकेट विश्वकप लिग–२ बाट शीर्ष तीन र आईसीसीको पूर्ण सदस्य राष्ट्रहरूको सुपर लिगबाट पुछारमा रहेका पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगताबाट शीर्ष दुई टिमले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

सुपर लिगका शीर्ष सात टिमले सिधै आईसीसी एकदिवसीय विश्वकपका स्थान बनाउनेछन् । आयोजक राष्ट्रका रूपमा भारतले पनि सिधै विश्वकपमा स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय