‘फित्कौली अनलाइन मिडिया’ले हास्यव्यङ्ग्य, साहित्य र कलाका क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने

२०८० बैशाख २६, मंगलवार ०८:२८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । हास्यव्यङ्ग्य प्रधान अनलाइन सञ्चालन गर्दै आएको ‘फित्कौली अनलाइन मिडिया’ले हास्यव्यङ्ग्य, साहित्य र कलाका क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने भएको छ ।

हास्यव्यङ्ग्यको प्रवद्र्धनमा क्रियाशील व्यक्ति वा संस्थालाई रु २० हजारसहित ‘फित्कौलीको राष्ट्रिय खित्कौली सम्मान’ प्रदान गर्ने भएको छ । आफ्नो वार्षिकोत्सवको अवसरमा गत माघ १४ गते स्थापना गरेको फित्कौली अक्षयकोषमार्फत सो संस्थाले चार पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । वर्षभरिमा फित्कौली डटकममा प्रविष्ट भएका मुक्तक, हाइकु, कविता र काव्यांशमध्ये उत्कृष्ट एक रचनाका लेखकलाई ‘फित्कौली हास्यव्यङ्ग्य कविता/काव्य पुरस्कार’ प्रदान गरिने छ, भने फित्कौली डटकममा प्रविष्ट भएका निबन्ध, नाटक र समीक्षामध्ये उत्कृष्ट एक रचनाका लेखकलाई ‘फित्कौली हास्यव्यङ्ग्य निबन्ध/ नाटक/समालोचना पुरस्कार’ प्रदान गरिने भएको छ ।

त्यस्तै, वर्षभरिमा फित्कौली डटकममा प्रविष्ट भएका वा अन्य पत्रपत्रिकामा प्रकाशित बुढ्यौलीसम्बन्धी लेखरचना वा कृतिमध्ये उत्कृष्ट रचना वा कृतिका सर्जकलाई ‘फित्कौली बुढ्यौली साहित्य पुरस्कार’ प्रदान गरिने भएको छ । यसरी सम्मानित र पुरस्कृत स्रष्टालाई फित्कौलीको लोगो अङ्कित सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिने छ । ‘फित्कौलीको खित्कौली सम्मान’ बाहेक अरु पुरस्कारको रकम रु १५/१५ हजार रहेको छ ।

अनलाइनका सम्पादक नरनाथ लुइँटेलद्वारा आफूले प्राप्त गरेका पुरस्कारबापत प्राप्त रकमसहित रु एक लाख ५० हजार अक्षय कोषका लागि प्रदान गरी अक्षय कोष स्थापनाको सुरुआत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार