यातायातको सेवा प्रविधिमैत्री बनाइनेछः मुख्यमन्त्री पाण्डे

२०८० जेष्ठ ३, बुधबार ०९:३१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात व्यवस्था कार्यालयको कामलाई प्रविधिमैत्री बनाइने बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित विमलनगरमा रहेको यातायात व्यवस्था कार्यालयको आज निरीक्षण गर्दै जनतालाई छिटोछरितो सेवा प्रवाहका लागि यातायातका सेवा प्रविधिमैत्री बनाइने जानकारी दिए ।

मुख्यमन्त्री पाण्डेले कुनै पनि बहानामा सेवा प्रभावित हुन नहुने बताउँदै छिटोछरितो सेवा दिन जनशक्ति व्यवस्थापन र प्रविधिमैत्री सेवाका लागि प्रदेश सरकारले काम अगाडि बढाएको बताए । आफूले मुख्यमन्त्रीको कार्यभार सम्हालेलगत्तै यातायात व्यवस्था कार्यालयको सेवा प्रवाहलाई प्रविधिमैत्री र छिटोछरितो बनाउन कार्यदल गठन गरिएको र उक्त कार्यदलले सुझाव सहितको प्रतिवेदन दिइसकेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

सो क्रममा उनले सेवाग्राहीसँग कुरा गर्दै कार्यालयको सेवा प्रवाहको अवस्थाबारे चासो राखेका थिए । कार्यालयका निमित्त प्रमुख रामप्रसाद शर्माले स्थायी कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । कार्यालयले विमलनगरबाट सेवा प्रवाहका लागि एक घर पाँच वर्षका लागि भाडामा लिएको छ ।

कार्यालयले सवारी साधन दर्ता, चालक अनुमति (लाइसेन्स) वितरणको काम गर्दै आइरहेको छ । जिल्लाबाटै सवारीसाधन दर्ता र सवारी चालक अनुमतिपत्रको काम भएपछि पोखरा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार