सुप्रेम शारदा पत्रकारिता पुरस्कार पत्रकार भण्डारीलाई

२०८० जेष्ठ १, सोमबार ०५:४३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गण्डकी । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलाई सुप्रेम शारदा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा स्थापित सो पुरस्कार पहिलो पटक भण्डारीलाई प्रदान गर्न लागिएको हो ।

पुरस्कार राशि रु ५१ हजार नगद र सम्मानपत्र छ । महासङ्घ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बास्तोलाको संयोजकत्वमा रहेको छनोट समितिको सिफारिसमा नेपाल प्रेस युनियन कास्कीकोे वैठकले भण्डारीलाई पुरस्कृत गर्ने निर्णय भएको युनियनका कार्यवाहक अध्यक्ष रवीना आलेले जानकारी दिईन् । पोखरामा रही दुई दशकदेखि पत्रकारितामा सक्रिय भण्डारीले विभिन्न सञ्चार माध्यममा काम गरेकी छन् । उनी यसअघि राष्ट्रपतिबाट जनसेवाश्री विभूषणसहित विभिन्न पुरस्कारबाट पुरस्कृत एवं सम्मानित भइसकेकी छिन् ।

संविधानसभा सदस्य, नेपाली कांगे्रसका तत्कालीन आमन्त्रित सदस्य, वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीले विसं २०७६ मा प्रेस युनियनले सञ्चालन गर्ने गरी बहिनी शारदा केसीको स्मृतिमा रु छ लाखको अक्षयकोष स्थापना गरेका थिए । नेपाली प्रेस युनियन कास्कीको १०औँ अधिवेशनको अवसरमा यही जेठ ७ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख अतिथ्यतामा पुरस्कार वितरण गरिने कावा अध्यक्ष आलेले बताईन् ।

सोही कार्यक्रममा युनियनका निवर्तमान अध्यक्ष नवीन सिग्देललाई शान्ति पत्रकारिता पुरस्कार, प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेललाई र २०७९ नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बास्तोलालाई प्रदान गरिने युनियनका सहसचिव ज्योति हमालले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार