
काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादीकी नेतृ ओनसरी घर्तीले नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा सदस्य सुवासचन्द्र नेम्वाङलाई आफ्नो पदीय दायित्व र मर्यादालाई कहिल्यै नबिर्सने व्यक्तिका रुपमा सम्झिएकी छन् ।
मंगलबार संविधान दिवसको पूर्व सन्ध्यामा नेकपा एमालेद्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान प्रवचन कार्यक्रम’मा घर्तीले नेम्वाङसँग आफूले सँगै संविधान निर्माणको समयमा सहकार्य गरेको सुनाउँदै उनको स्मरण गरेकी हुन् ।
‘उहाँले आफू पदीय मर्यादामा रहँदा आफ्नो मर्यादा कहिल्यै भुल्नुभएन । संविधान सभाका ती दिनहरुका अप्ठ्यारा, हामी सबै जानकार छौं, तर उहाँले जहिल्यै पनि आफ्नो दायित्व र मर्यादालाई भुल्नुभएन । सधैं सहकार्य, सहमति, राष्ट्रिय एकताको कुरालाई उठाउनुभयो र संविधान जारी गराउनुभयो’ उनले भनिन्, ‘म सम्मानपूर्वक भन्न चाहन्छु, उहाँ संविधान सभाको आफ्नो कार्यकाल निर्वाह गर्नमा सफल अध्यक्ष हुनुहुन्छ ।’
इतिहासले नै नेम्वाङलाई संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने जिम्मेवारी सुम्पेको र त्यसलाई उनले पूरा गरेको घर्तीले बताइन् । घर्तीले भनिन्, ‘आज हामीले संसदको लागि एक अभिभावक गुमाएका छौं । संसद चलाउनको लागि आजको संकटहरुलाई सजिलै सहजीकरण गर्नको लागि संसदले त अभिभावक नै गुमाएको भन्छु म । एक समन्वयकारी, सरल, सबैले मन पराउने असल नेता देशले गुमाएको छ ।’
संविधान सभाका अध्यक्ष नेम्वाङको गत मंगलबार बिहान हृदयघातका कारण निधन भएको थियो ।