काठमाडौं । अन्ततः हमासले नेपाली युवक विपिन जोशीको शव इजरायललाई हस्तान्तरण गरेको छ । इजरायली अनलाइन पत्रिका टाइम्स अफ इजरायलका अनुसार सोमबार अबेर हमासले अन्तर्राष्ट्रिय रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इसराइललाई बुझाएको हो । शव प्राप्त भएको इजरायली सेनाले पनि पुष्टि गरेको छ।
हमासले हस्तान्तरण गरेका चार शवमध्ये विपिन जोशी, गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेज रहेका छन् ।
बन्धक मुक्त गरिँदा समेत विपिनको अवस्था अज्ञात थियो । तर, सोमबार साँझ इजरायली सेनाले भिडियो संवादमार्फत विपिन जीवित नरहेको जानकारी गराएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले बताए ।
यसअघि हमासले पनि विपिनसहित चार जनाको मृत्यु भएको पुष्टि गर्दै शव हस्तान्तरण गर्ने घोषणा गरेको थियो।




