काठमाडौं। काठमाडौंको बौद्धस्थित बाहुनाधारामा मोटरसाइकलमा सवार एक युवकमाथि खुकुरी प्रहार गरेर फरार भएका तीन जना दिल्लीबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीको सहयोगमा उनीहरूलाई भारतको राजधानी दिल्लीबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।
पक्राउ परेकाहरूको नाम र ठेगाना सार्वजनिक गरिएको छैन । घटनामा संलग्न चौथो व्यक्ति भने फरार रहेको बताइएको छ ।
१२ साउनको राति करिब ९ बजेतिर बौद्ध नयाँबस्तीस्थित डी क्याफे मा खाजा खाएर बाहिर निस्कँदै गरेका काभ्रेको रोशी गाउँपालिका–१० का २८ वर्षीय जितबहादुर मोक्तानमाथि खुकुरी प्रहार भएको थियो ।
चार जनाको समूहले योजनाबद्ध रूपमा मोटरसाइकलमै पिछा गर्दै आएका मोक्तानमाथि हात, ढाड र पेटमा अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते अवस्थामा रहेका मोक्तानको अहिले अवस्था खतरामुक्त भएको जनाइएको छ ।




