काठमाडौँ । रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटनामा परेर हराएका दुई युवाको शव फेला परेको छ । भाद्र १५ गतेदेखि सम्पर्कविहीन रहेका २४ वर्षीय सुदिप घले र २३ वर्षीय दावा डेन्डुप तामाङको खोजी कार्यपछि मंगलबार उनीहरूको शव खोलामा भेटिएको हो।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार शवमध्ये एक जनाको शव रोप रेस्क्यू विधिबाट निकाल्ने कार्य जारी छ भने अर्को शव स्थानीयले सोही खोलामा देखेको जानकारी प्राप्त भएको छ।
घटनापछि आफन्तले भाद्र १७ गते जिल्ला प्रहरी कार्यालय रसुवामा खोजीका लागि निवेदन दिएका थिए । त्यसपछि सीसीटीभी फुटेजमा उनीहरू धुन्चेबाट ठाडेतर्फ मोटरसाइकल (ना ३३ प ३८१७) मा गइरहेको देखिएको पुष्टि भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नं. २० गुल्म रसुवाको संयुक्त टोली खोजीमा परिचालित भएको थियो।
प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकल सडकबाट करिब २५० मिटर तल खोलामा खसेर दुर्घटना भएको देखिएको छ।




