काठमाडौ । खानेपानीमन्त्री प्रदीप यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलवीच वीरगन्जमा देखिएको हैजा संक्रमण नियन्त्रण तथा रोकथामका विषयमा छलफल भएको छ । आइतबार मन्त्री यादव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यमन्त्री पौडेलसँग प्रत्यक्ष भेट गरी वीरगंजमा देखिएको हैजा संक्रमणका सम्बन्धमा ध्यानाकर्षण गराउँदै विस्तृत छलफल भएको मन्त्री यादवको स्वकीय सचिवालयले जनाएको छ ।
उक्त छलफलमा वीरगंजका प्रभावित क्षेत्रमा कोलेरा किट तत्काल व्यवस्था गर्ने, लक्षणको आधारमा संक्रमितलाई तुरुन्त उपचार उपलब्ध गराउने, प्राइभेट अस्पतालहरूमा निःशुल्क परीक्षणको व्यवस्था गर्ने र आवश्यक थप मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट तथा नर्सलगायतको जनशक्ति तत्काल परिचालन गर्ने सहमति भएको खानेपानीमन्त्री यादवले जानकारी दिए । हैजा नियन्त्रणका लागि केन्द्र र स्थानीय सरकारबीच समन्वय गर्दै आवश्यक सबै कदमहरू तत्काल लागू गर्ने निर्णय गरिएको छ ।




