काठमाडौँ । स्याङ्जाको वालिङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। वालिङ नगरपालिका–५, बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको कुटपिटका कारण ज्यान गएको हो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका सूचना अधिकारी प्रसन्नराज चौधरीका अनुसार, थापामाथि शनिबार (भदौ ७ गते) राति करिब ११ बजे कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका उनलाई तत्काल वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारका लागि लगिएको थियो।
थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पुर्याइए पनि चिकित्सकले राति नै मृत घोषणा गरेका थिए।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा हरिनाश गाउँपालिका–५ का २२ वर्षीय सिजन थापा र चापाकोट नगरपालिका–५ का २४ वर्षीय अनिल शाही रहेको चौधरीले जानकारी दिए।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।




