एमसीसी सम्झौता देशको सार्वभौमसत्ता र संविधान विपरीत छ : झलनाथ खनाल

२०८२ भाद्र ८, आईतवार १४:३४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको सार्वभौमसत्ता, भू-राजनीतिक सन्तुलन र संविधानको भावनाविपरीत रहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता खनालले एमसीसी सम्झौता संसदबाट असामान्य ढंगले अनुमोदन गरिएको भन्दै त्यसको चर्को आलोचना गरे। उनले संसदमा पर्याप्त छलफल नै नगरी एमसीसी पास गरिएको घटनालाई ‘आश्चर्यजनक नाटक’ को संज्ञा दिए। “यो प्रक्रियाले लोकतान्त्रिक मूल्यमान्यताको ठाडो उल्लङ्घन गरेको छ,” उनले भने।
एमसीसी सम्झौताले नेपाललाई भारतसँग मात्रै विद्युत् व्यापार गर्न बाध्य पार्ने प्रावधान राखेको उल्लेख गर्दै नेता खनालले यसले भारतीय एकाधिकारलाई बलियो बनाउने खतरा रहेको औंल्याए।
कार्यक्रममा उनले राजनीतिक दलहरूको दोहोरो भूमिकाका कारण राष्ट्रवादी अडान लिने विद्यार्थी, युवा र बुद्धिजीवीहरूले अनावश्यक दुःख भोग्नुपरेको समेत बताए। उहाँले एमसीसी जस्ता राष्ट्रिय महत्वका विषयमा दलहरू स्पष्ट र एकढिक्का हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार