राप्रपा र रास्वपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

२०८२ भाद्र ५, बिहीबार १५:०४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए ।

त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न दिए । उनले लोकतन्त्रको विरासत धन्ने दलहरूले उपसभामुख इन्दिरा रानामगरबारे भएको अवमूल्यनले लोकतन्त्रमा खतरा उत्पन्न गराएको बताए ।

त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद ध्रुवबहादुर प्रधानलाई बोल्ने समय दिए । उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म विरोध जारी राख्ने बताए ।
त्यसपछि दुवै दलका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन् । रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा गत जेठ १३ गतेदेखि विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार