सामाजिक सुरक्षा भत्ता धनीलाई होइन, गरिबलाई मात्र दिनुपर्छ: मन्त्री सुडी

२०८२ भाद्र ४, बुधबार १६:४१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले सामाजिक सुरक्षा भत्ता केवल गरिबीको रेखामुनि रहेका नागरिकलाई मात्र उपलब्ध गराउनुपर्ने प्रस्ताव राखेका छन्। उनले देशको वर्तमान आर्थिक अवस्थाले सबैलाई भत्ता वितरण गर्ने प्रणाली धान्न नसक्ने भन्दै यसलाई लक्षित वर्ग केन्द्रित बनाउनुपर्नेमा जोड दिएका हुन्। बुधबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै मन्त्री साहले उच्च पदस्थ र सम्पन्न व्यक्तिका परिवारलाई सामाजिक सुरक्षा भत्ता दिनुको कुनै औचित्य नभएको बताए। उनले भने, “विनोद चौधरीको आमाबुबा वा श्रीमतीलाई किन सामाजिक सुरक्षा भत्ता चाहियो? हाम्रो बजेटको स्थिति खराब छ।”

मन्त्री साहले छिमेकी देश भारतको उदाहरण दिँदै विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएर पनि त्यहाँ मासिक ५ सय रुपैयाँ मात्र भत्ता दिइने गरेको बताए। नेपालमा भने राजनीतिक दलहरूले आफ्नो राजनीतिक फाइदाका लागि भत्ता बढाउने प्रतिस्पर्धा गरेको उनको आरोप थियो।
“नेपालमा २० प्रतिशत मानिस मात्र गरिबीको रेखामुनि छन्। सामाजिक सुरक्षा भत्ता पहिले उनीहरूलाई दिनुपर्छ,” मन्त्री साहले भने, “म भत्ता घटाउनुपर्छ भन्दिनँ। ४ हजारको सट्टा ६ हजार नै दिनुस्, तर त्यो केवल गरिबीको रेखामुनि रहेका २० प्रतिशत जनतालाई मात्र दिनुस्।”
हाल सरकारले ज्येष्ठ नागरिक, असहाय एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जाति तथा बालबालिकाका लागि पोषण भत्ता जस्ता विभिन्न शीर्षकमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ। मन्त्री सुडीको यो प्रस्तावले सामाजिक सुरक्षाको वर्तमान ढाँचामाथि नयाँ बहस सिर्जना गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार