काठमाडौं । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा १७औँ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अटो शो सुरु भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै ठूलो सवारीसाधन प्रदर्शनी मेला उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी छन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नाडा अध्यक्ष करण चौधरीले यसपटक केही नयाँ आकर्षण थप्ने कोशिस गरेको जानकारी दिए।
यसपटकको शोमा अवलोकनकर्ताले डिपलको उड्ने ट्याक्सी, मानवीकृत रोबोटको अवलोकन गर्न पाउने उनले बताए। भौतिक मन्त्रालयले सवारी आयातसम्बन्धी मापदण्ड तयार गरिरहेको बताउँदै उनले नाडासँग सहकार्य गरेर अघि बढ्ने अपेक्षा गरे।
त्यस्तै नाडा र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा चार्जिङ स्टेसन निर्माण भइरहेको बताउँदै उनले चाँडै पूर्वाधारको समस्या हल हुने बताए। शोमा चारपांग्रे, दुईपांग्रेदेखि तिनका पार्ट्सपुर्जाहरुसम्म प्रदर्शन गरिएका छन्। नाडा अटो शोमा मोरङ अटो वर्क्स (एमएडब्लू) ले मात्रै ६ वटा ब्रान्डका लागि ७ वटा स्टल लिएको छ। नाडामा चार पाङ्ग्रेको कूल १९ वटा स्टल रहेको ७ वटा एमएडब्लूका मात्रै छ । एमएडब्लू नाडा अटो शोको मूख्य प्रायोजक पनि हो।
गत वर्षको शोमा सबैभन्दा धेरै बुकिङ लिएको एमएडब्लू ग्रुपले यसपटक पनि सबैभन्दा धेरै बुकिङ लिने विश्वास लिएको कम्पनीका कार्यकारी निर्देशक विवेक सिकरियाले बताउँछन् ।
यो वर्ष एमएडब्लू ग्रुपसँग ब्रान्ड र प्रोडक्टका रेन्ज धेरै भएकाले पनि कार्यकारी निर्देशक सिकरियाले बताएजस्तै धेरै बुकिङ हुने सम्भावना देखिन्छ । कम्पनीले नामी, सेरेस, डिपल, फोटोन, अवतार, सोकोन जस्ता ब्रान्डका नयाँ मोडलका गाडी प्रदर्शनीमा राखेको छ । साथै यामाहाको पनि उपस्थिति रहने छ।




