काठमाडौँ । सत्तारुढ गठबन्धनले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी तीव्र पारेको छ। तर, उनीमाथि पदको दुरुपयोग गरेको आरोपमा महाभियोग लगाउने चर्चा चुलिएका बेला उनी भने अमेरिका भ्रमणमा रहेको खुलेको छ। संसद सचिवालय स्रोतका अनुसार, उपसभामुख राना १० दिने व्यक्तिगत भ्रमणका लागि गत साउन ३० गते अमेरिका प्रस्थान गरेकी हुन्। उनी देशमा नभएकै बेला सत्तारुढ दलहरूले उनलाई हटाउने प्रक्रिया अघि बढाएका हुन्।
सत्ता गठबन्धनले उपसभामुख रानाले आफ्नो पदीय मर्यादाविपरीत आफूसहित पाँच जनालाई भिसा अन्तर्वार्ताको समय मिलाइदिन दूतावासलाई पत्र लेखेको विषयलाई नैतिकताको प्रश्न उठाउँदै पदबाट हटाउने तयारी गरेको हो। उपसभामुखलाई हटाउने चर्चाले उनको मातृ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तरंगित बनेको छ। पार्टीका शीर्ष नेताहरू अनौपचारिक छलफलमा जुटे पनि अहिलेसम्म औपचारिक बैठक भने डाकिएको छैन। एक शीर्ष नेताले सञ्चारमाध्यमबाट खबर पाएपछि आफूहरू पार्टी कार्यालयमा अनौपचारिक कुराकानीमा जुटेको बताएका छन्।




