डेंगुबाट काठमाडौंमा एक युवकको मृत्यु, यस वर्षकै पहिलो घटना

२०८२ श्रावण ३०, शुक्रबार १५:०९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । काठमाडौंमा डेंगु संक्रमणका कारण एक युवकको मृत्यु भएको छ। कालीमाटी निवासी २४ वर्षीय युवकको मृत्युसँगै नेपालमा यस वर्ष डेंगुबाट ज्यान गुमाउनेको संख्या एक पुगेको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार, यो यस वर्ष डेंगुका कारण भएको पहिलो मृत्यु हो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का प्रवक्ता डा. समिर अधिकारीले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत युवकको मृत्यु भएको पुष्टि गरे। सोही अस्पतालमा उपचार गराइरहेका अन्य चार जना संक्रमितको स्वास्थ्य अवस्था भने सामान्य रहेको उनले जानकारी दिए।

महाशाखाको तथ्यांकअनुसार, गत पुष महिनादेखि हालसम्म देशभर डेंगु संक्रमितको संख्या २ हजार ९८४ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै २१ जना नयाँ संक्रमित थपिएका छन् भने गत एक सातामा १६८ जनामा संक्रमण पुष्टि भएको छ।
हालसम्म डेंगुको संक्रमण देशका ७४ जिल्लामा फैलिसकेको छ। प्रदेशगत रूपमा सबैभन्दा बढी गण्डकी प्रदेशमा ८८२ जना संक्रमित भेटिएका छन् भने सबैभन्दा कम मधेश प्रदेशमा ५५ जनामा संक्रमण देखिएको छ।
लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको संक्रमण बढ्दै गएपछि स्वास्थ्य विज्ञहरूले घरवरिपरि पानी जम्न नदिन र लामखुट्टेको टोकाइबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार