स्याङ्जा। स्याङ्जाको भिरकोट नगरपालिका-७ निवासी एकै परिवारका दिदीभाइले मलेसियामा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक जितेर नेपालको नाम रोशन गरेका छन् । भाइ रायन अर्यालले स्वर्ण पदक जित्दा दिदी रिया अर्यालले रजत पदक हात पारेकी हुन् ।
अगस्ट ७ देखि १० सम्म मलेसियामा सम्पन्न “सातौँ हिरोज इन्भिटेसनल तेक्वान्दो कप” मा उनीहरूले उक्त सफलता हासिल गरेका हुन् । प्रतियोगितामा नेपालले समग्रमा उत्कृष्ट प्रदर्शन गर्दै ४ स्वर्ण, २ रजत र १ कास्य गरी कुल ७ पदक जितेको छ ।
नेपालका लागि इन्डिभिजुअल पुम्सेतर्फ रायन अर्याल र साम्राज्ञी क्षेत्रीले स्वर्ण पदक जिते भने फेमिली पुम्सेमा स्वमिक महतरा र विष्णु महतराको जोडीले स्वर्ण पदक हात पारेको थियो ।
त्यसैगरी, इन्डिभिजुअल पुम्सेमा रिया अर्याल र स्वमिक महतराले रजत पदक जिते । भर्चुअल तेक्वान्दो विधामा भने सुप्रिम गुरुङले कास्य पदकमा चित्त बुझाए ।
विश्वका ३० देशका ३५२ टोलीबाट २१ हजार ८ सय ४५ भन्दा बढी खेलाडी सहभागी भएको उक्त वृहत् प्रतियोगितामा नेपाली खेलाडीहरूको प्रदर्शन प्रशंसनीय रह्यो ।




