काठमाडौं । ललितपुरमा केटा साथीको घरमा गएकी एक किशोरीको रहस्यमय मृत्यु भएको छ। घटनापछि प्रहरीले उनका प्रेमीलाई पक्राउ गरेको छ।
ललितपुरको महालक्ष्मी नगरपालिका-३, बोझेपोखरीकी करिब १८ वर्षीया किशोरीको मृत्यु भएपछि ललितपुरकै इमाडोलका १८ वर्षीय आर्यन पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, ती किशोरी बुधबार दिउँसो पाण्डेको घरमा गएकी थिइन्। केटा साथीसँगै रहेका बेला उनी एक्कासी बेहोस भएपछि उपचारका लागि ग्वार्कोस्थित किष्ट अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याउँदा चिकित्सकले उनको पहिल्यै मृत्यु भइसकेको घोषणा गरेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, सामाजिक सञ्जालमार्फत चिनजान भएपछि उनीहरू केही महिनादेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ।
प्रहरीले पक्राउ परेका पाण्डेलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाएको छ। किशोरीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ। पोष्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।




