काठमाडौं । औषधि व्यवसायीहरूको छाता संगठन, नेपाल औषधि व्यवसायी संघ (एपोन) को नयाँ कार्यसमिति आज (सोमबार) चयन हुँदैछ। काठमाडौंमा जारी संघको ३१ औं साधारणसभाले सहमति वा निर्वाचनमार्फत नयाँ नेतृत्व टुंगो लगाउन लागेको हो।
संघको अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी दिएसँगै चुनावी सरगर्मी बढेको छ। अध्यक्षका लागि विप्लव अधिकारी र दीपक दाहालले उम्मेदवारी दिएका छन्। संघका अनुसार दुवै उम्मेदवारबीच सहमतिको प्रयास भइरहेको छ, तर सहमति नजुटेमा निर्वाचन प्रक्रियाबाट नेतृत्वको छिनोफानो हुनेछ।
निर्वाचन समितिले दिउँसो १ बजेदेखि ३ बजेसम्म मतदानको समय तोकेको छ। यसैगरी, सदस्य पदका लागि पनि १६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सदस्य पदमा उम्मेदवारी दिनेहरूमा प्रभात रुङ्गटा, दीपककुमार टिवडेवाला, पंकजकुमार तिवारी, शरदचन्द्र ओझा, ईश्वरकुमार भण्डारी, सुमितचन्द्र श्रेष्ठ, गिरीराज पाठक, गणेश पौडेल, नवराज पौडेल, शैलेश वैद्य, सजलराज रेग्मी, सुदर्शन खेगुली, पृथ्वी राज भण्डारी, सन्तोष बराल, दिनेश ठाकुर र पवन दाहाल रहेका छन्।
साधारणसभाले अध्यक्षसहित नयाँ कार्यसमिति चयन गरेपछि आजै साँझसम्म नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ।




