काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ परी प्रहरी हिरासतबाट हत्कडीसहित फरार भएका एक युवकलाई प्रहरीले पुनः पक्राउ गरेको छ। सोमबार बिहान काठमाडौंको बूढानीलकण्ठमा हत्कडी लगाएको अवस्थामा हिँडिरहेका उनलाई स्थानीयको सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा २० वर्षीय दिलीप राय रहेका छन्। बूढानीलकण्ठ नगरपालिका–२, भंगालस्थित दूधडेरी नजिक सोमबार बिहान करिब सवा ६ बजे हातमा हत्कडीसहित एक युवक एक्लै हिँडिरहेको देखेपछि स्थानीय अचम्ममा परेका थिए। नजिकै प्रहरी कोही नदेखेपछि एक स्थानीयले प्रहरी प्रभाग बूढानीलकण्ठमा खबर गरेका थिए।
सूचना पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेर रायलाई नियन्त्रणमा लिएको हो। प्रहरी अनुसन्धानका क्रममा उनी केही दिनअघि लागुऔषध नियन्त्रण ब्युरोको टोलीद्वारा पक्राउ परेको र ब्युरोको हिरासतबाटै हत्कडीसहित फरार भएको खुलेको छ।
पुनः पक्राउ गरिएका रायलाई बूढानीलकण्ठ प्रहरीले लागुऔषध नियन्त्रण ब्युरोको जिम्मा लगाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




