हेटौंडा । मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएपछि बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले दलहरूलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न मंगलबार दिउँसो २ बजेसम्मको समयसीमा तोकेका छन्।
प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर सरकार गठन गर्न आह्वान गरेका हुन्।
यसअघि, कांग्रेस संसदीय दलको नेताको चुनावमा पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार लामाले आइतबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।
लामाको राजीनामाले कांग्रेस संसदीय दलका नवनिर्वाचित नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। गठबन्धन दलको समर्थनमा उनले तोकिएको समयभित्रै दाबी पेस गर्ने तयारी गरेका छन् र उनी नै प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ।




