संखुवासभाबाट छुटेको बस तेह्रथुममा दुर्घटना, १४ घाइते, चालक फरार

२०८२ श्रावण १७, शनिबार १४:११ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

धनगढी। सङ्खुवासभाबाट झापाको दमकका लागि छुटेको एक यात्रुवाहक बस तेह्रथुममा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।दुर्घटनालगत्तै बसका चालक फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय, तेह्रथुमका अनुसार, सङ्खुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको बा २ प ७२४४ नम्बरको बस शनिबार सङ्खुवासभा र तेह्रथुमको सिमानामा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित देउराली घुम्तीमा दुर्घटनामा परेको हो। प्रहरी नायब उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले बस सडकबाट करिब १० मिटर तल खसेको जानकारी दिए।

दुर्घटनामा १४ जना घाइते भएका छन्। घाइतेमध्ये धर्मदेवी नगरपालिका–९ का २३ वर्षीय सविन विष्टको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। अन्य घाइतेहरूको बसन्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइते हुनेहरूमा सङ्खुवासभाको धर्मदेवी नगरपालिका–९ का २३ वर्षीय सविन विष्ट, धर्मदेवी–७ का २५ वर्षीय भवानी कार्की, सात वर्षीया असीमित भारती, नौ वर्षीया हिरा भारती, ५६ वर्षीया रत्नमाया कटुवाल, १२ वर्षीय विष्णु कटुवाल, मनकुमार कटुवाल, ५२ वर्षीया धनमाया चापागाईं, धर्मदेवी–६ का ५२ वर्षीय श्रीमान तामाङ, १५ वर्षीया प्रतिमा कटुवाल, १६ वर्षीया सोममाया याईम, ३० वर्षीय सुजन कटुवाल, ६२ वर्षीय दलबहादुर कार्की र धनकुटाको महालक्ष्मी नगरपालिका–१ का २४ वर्षीय विमल विक रहेका छन्।
दुर्घटनालगत्तै बसका चालक, सङ्खुवासभाको धर्मदेवी–६ का खेम महत फरार रहेको र उनको खोजी भइरहेको डीएसपी लामिछानेले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार