रञ्जितालाई हटाएपछि नागरिक उन्मुक्तिमा आज नयाँ अध्यक्ष चयन

२०८२ श्रावण १५, बिहीबार १०:२१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं। अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदमुक्त गरेपछि नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेलाले आज नयाँ अध्यक्ष चयन गर्दैछ। नयाँ बानेश्वरमा जारी भेलाले नयाँ नेतृत्व चयन गर्ने कार्यसूची भए पनि यसको कानुनी मान्यतामाथि भने प्रश्न उठेको छ।
बुधबार बसेको भेलाले अध्यक्ष श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो। पोखराको लिचीबारी जग्गा प्रकरणमा मुछिएकी श्रेष्ठले पार्टीको अनुशासन समितिले सोधेको २४ घन्टे स्पष्टीकरणको जवाफ नदिएपछि कारबाही गरिएको भेलाको निष्कर्ष छ।

श्रेष्ठलाई पदमुक्त गरेसँगै भेलाले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो। नयाँ अध्यक्षका लागि संस्थापक नेता रामलाल डगौरा, सांसद लालवीर चौधरी र संसदीय दलकी नेता गंगा चौधरीको नाम चर्चामा छ।
यद्यपि, भेलाले गर्ने निर्णयलाई निर्वाचन आयोगमा अद्यावधिक गर्न भने कानुनी जटिलता देखिएको छ। पार्टीको विधानमा महाधिवेशनबाट मात्र अध्यक्ष हटाउन सकिने व्यवस्था भएकाले राष्ट्रिय भेलाको निर्णयले कानुनी मान्यता पाउनेमा आशंका छ। यसले पार्टीभित्रको विवादलाई थप बढाउने निश्चित छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार