काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले सरकार र भ्रष्टाचार पर्यायवाची जस्तै बनेको भन्दै कडा टिप्पणी गरेका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै उनले मुलुकमा बढ्दो भ्रष्टाचारको मुख्य दोषी स्वयं सरकार भएको दाबी गरे।
सांसद शर्माले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाउँदै समस्याको जड अन्यत्र नभई सरकारभित्रै खोज्नुपर्ने बताए। “अहिले राष्ट्रको मुख्य समस्या भ्रष्टाचार बनेको छ। भ्रष्टाचारको मुख्य दोषी सरकार नै हुन्छ। सरकार र भ्रष्टाचार अहिले पर्यायवाची बनेका छन्,” उनले भने, “सरकारले समस्या अन्यत्र होइन, आफैंभित्र खोज्न सक्नुपर्छ।”
उनले भ्रष्टाचारलाई समयमै नियन्त्रण गर्न नसके नेपाल कालोसूचीमा पर्न सक्ने गम्भीर चेतावनी समेत दिए। “यसलाई समयमै रोक्न नसक्ने हो भने देश ग्रे लिस्टमा मात्र होइन, सिधै ब्ल्याक लिस्टमा जाने अवस्था आउन सक्छ,” उनले भने।
सांसद शर्माले भ्रष्टाचार नियन्त्रणका लागि विशेष कदम चाल्न र नेताहरूको सम्पत्ति छानबिन प्रक्रिया तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए।




