रसुवा । आज बिहान २ बजे गोसाईकुण्ड गाउँपालिका-२ स्थित ल्हेन्दे खोलामा अचानक बाढी आएको छ । चीनतर्फबाट आएको पानीका कारण त्रिशुली र भोटेकोशी नदीमा जलसतह वृद्धि भएपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।
बाढीले टिमुरे भन्सार यार्डमा रहेको एक धर्मकाँटा समेत बगाएको जानकारी प्राप्त भएको छ । प्राधिकरणले रसुवा, नुवाकोट र धादिङका त्रिशुली र भोटेकोशी नदी किनारमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सतर्क रहन र नदी किनारमा नजान अनुरोध गरेको छ।
यस समयमा पनि खोलाको जलसतह उच्च रहेकोले माछा मार्न, बाढीले बगाएका काठ–दाउरा टिप्नजस्ता क्रियाकलाप नगर्न प्राधिकरणले सन्देश दिएको छ।
नदी किनारका बासिन्दा र पर्यटकहरूले अतिरिक्त सावधानी अपनाउन अनुरोध गरिएको छ। वर्षाले गत असार तेस्रो सातामा पनि रसुवा क्षेत्रलाई ठूलो क्षति पुर्याएको थियो, जहाँ मितेरी पुल र भन्सार क्षेत्रमा राखिएका गाडी बगाएको थियो ।




