काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको प्रवर्द्धनले नै पर्यटन क्षेत्रको विकास हुने बताएका छन् ।सोमबार ‘पर्यटन नीति, २०८२’ सार्वजनिक गर्दै उहाँले निजी क्षेत्रको सशक्तिकरणका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
“संस्कृति र पर्यटन एकआपसमा गाँसिएका छन्,” मन्त्री पाण्डेले भने, “संस्कृतिलाई जति प्रवर्द्धन गरिन्छ, त्यसले पर्यटनलाई नै विकास गर्ने हो। यसका लागि निजी क्षेत्र बलियो बन्न आवश्यक छ र सरकार उनीहरूलाई सघाउन तयार छ।”
उनले नीति बनाउनुभन्दा त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औंल्याए। साथै, नयाँ संस्कृति नीति पनि तयारीको चरणमा रहेको उनले जानकारी दिए।
हवाई उड्डयनको प्रसंगमा मन्त्री पाण्डेले चीनको सहकार्यमा सञ्चालित हिमालयन एयरलायन्सले घाटामा भए पनि पोखरा-ल्हासा उडान गरेर राष्ट्रिय पहिचानलाई बलियो बनाएको बताए। यसको तुलनामा कतार एयरवेज जस्ता विदेशी एयरलाइन्सले नेपालको अन्तर्राष्ट्रिय हवाई बजारको ३१ प्रतिशत हिस्सा ओगटेकोतर्फ उनले ध्यानाकर्षण गराए।
मन्त्री पाण्डेले पर्यटनसँग सम्बन्धित सबै संघसंस्थाहरूलाई स्पष्ट एजेन्डासहित सरकारसँग सहकार्य गर्न आग्रह गरे। “होटेल, ट्रेकिङ लगायत सबै क्षेत्रका एसोसिएसनहरू बलियो हुनुपर्छ। निजी क्षेत्र अगाडि आएमा सरकारले आवश्यक सुधार र सहयोग गर्नेछ,” उनले भने।




