हेटौंडामा पौने २ अर्ब लगानीमा खुल्दैछ दाना उद्योग, विदेशी लगानीसँग प्रतिस्पर्धा गर्ने लक्ष्य

२०८२ श्रावण १२, सोमबार १४:१४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । वरिष्ठ व्यवसायी खुमा प्रसाद अर्यालले मकवानपुरको हेटौंडामा करिब पौने २ अर्ब रुपैयाँ लगानीमा अत्याधुनिक दाना उद्योग स्थापना गरिरहेका छन्। ओम एग्रो प्रालिमार्फत निर्माण भइरहेको यो उद्योगले स्वदेशी तथा विदेशी लगानीका कम्पनीहरूसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ।

प्रारम्भिक रूपमा १ अर्ब २२ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा निर्माण सामग्रीको मूल्यवृद्धि र ढिलाइका कारण हाल परियोजनाको कुल लागत १ अर्ब ७१ करोड ७३ लाख रुपैयाँ पुगेको छ। यस उद्योगले प्रतिघण्टा २० मेट्रिक टन दाना उत्पादन गर्ने क्षमता राख्नेछ।
कम्पनीले परियोजनाका लागि १ अर्ब २० करोड २० लाख रुपैयाँ बैंकबाट कर्जा लिने र बाँकी रकम लगानीकर्ताबाट जुटाउने योजना बनाएको छ। हालसम्म १ अर्ब २२ करोड रुपैयाँ लगानी भइसकेको छ, जसमा ग्लोबल आईएमई बैंकबाट ८५ करोड ४० लाख रुपैयाँ कर्जा र लगानीकर्ताबाट ३६ करोड ६० लाख रुपैयाँ इक्विटी रहेको छ।
कम्पनीले २०२५ को मे महिनाबाट आंशिक रूपमा व्यावसायिक उत्पादन सुरु गरिसकेको छ भने पूर्ण निर्माण सन् २०२६ मा सम्पन्न हुने बताइएको छ।

नेपालको दाना बजारमा उच्च प्रतिस्पर्धा छ, जहाँ भारतीय र चिनियाँ लगानीकर्ताहरूको बलियो उपस्थिति छ। भारतीय लगानीका स्काइलर्क एग्रो र निम्बुस इन्टरनेसनल तथा चिनियाँ लगानीका नेपाल वेलहोप एग्री-टेक र न्यू होप एग्रो जस्ता कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नु नेपाली उद्योगका लागि चुनौतीपूर्ण रहेको कम्पनीले जनाएको छ।
उद्योगका अध्यक्ष खुमाप्रसाद अर्याल गण्डकी मेडिकल कलेज, युनिभर्सल कलेज अफ मेडिकल साइन्स लगायतका स्वास्थ्य तथा कृषि क्षेत्रमा संलग्न प्रतिष्ठित व्यवसायी हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार