रसुवा। रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आइतबार स्नान गर्ने क्रममा बेपत्ता भएका दुई जना तीर्थालुको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय, रसुवाले मोरङको बेलबारीका मनोज न्यौपाने र विराटनगरका २८ वर्षीय सुजन ढकालको शव सोमबार फेला परेको पुष्टि गरेको हो।
आइतबारदेखि बेपत्ता उनीहरूको शव आज (सोमबार) नेपाली सेनाको सहयोगमा कुण्डबाट निकालिएको प्रहरीले जनाएको छ।
उनीहरू आइतबार जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनालगत्तै नेपाल प्रहरी र नेपाली सेनाको टोलीले खोजीकार्य जारी राखेको थियो।




