इजारायल–हमास युद्धः अहिलेसम्म १० हजार बढी बालबालिका मारिए

२०८० पुष २८, शनिबार ११:४० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । गत अक्टोवर ७ मा प्यालेस्टाइनी समूह हमासले आक्रमण गरेपछि सुरु भएको इजरायल र हमासबीच युद्ध जारी छ । इजरायलले गाजामा लगातार भारी बमबारी गरिरहेको छ । बम विष्फोटमा दैनिक दर्जनौं प्यालेस्टाइनी मारिने गरेका छन् ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, विगत २४ घण्टामा कम्तीमा ११२ प्यालेस्टाइनीको मृत्यु भएको छ । यस अवधिमा १९४ जना घाइते भएका छन् । प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार, दक्षिणी गाजाको रफाह सहरको पूर्वमा रहेको एक आवासीय घरमा इजरायली हवाई आक्रमणमा कम्तीमा नौ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । दक्षिणी गाजाको खान युनिसको अल–मनारा छिमेकमा एउटा गाडीमा इजरायली हवाई आक्रमणमा कम्तीमा नौ प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ ।

युद्धमा मारिने प्यालेस्टाइनीको संख्या तीव्र गतिमा बढिरहेको छ । पछिल्लो रिपोर्ट अनुसार इजरायली आक्रमणमा मारिएका प्यालेस्टाइनीको संख्या २३ हजार ४६९ पुगेको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका र महिला रहेका छन् । ‘सेभ द चिल्ड्रेन’को नयाँ रिपोर्टका अनुसार गाजामा झण्डै १०० दिनको युद्धपछि कम्तिमा १० हजार बालबालिका मारिएका छन् । घाइतेको कुल संख्या ५९ हजार ६०४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता अशरफ अल(केद्राले कुल घाइतेमध्ये ६,२०० गाजा बाहिर तत्काल उपचारको आवश्यकता रहेको बताएका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार गाजाका ३६ अस्पतालमध्ये १५ वटाले आंशिक रूपमा काम गरिरहेका छन् । अस्पतालहरूले विशेष शल्यचिकित्सक, न्यूरोसर्जन र सघन हेरचाह कर्मचारीलगायत स्वास्थ्यकर्मीको अभावका साथै चिकित्सा आपूर्तिको अभाव र खाना र पिउने पानीको तत्काल आवश्यकता रहेको जस्ता चुनौतीहरूको सामना गरिरहेका छन् ।

आधारभूत आपूर्ति र इन्धनको चरम अभावको सामना गर्दै दक्षिणमा आंशिक रूपमा कार्यरत नौ अस्पतालहरू आफ्नो क्षमताको तीन गुणाले सञ्चालन गरिरहेका छन् । अकुपेन्सी दर इनपेन्टेन्ट विभागहरूमा २०६ प्रतिशत र सघन हेरचाह इकाईहरूमा २५० प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार