सन्दर्भ विश्व सिमसार दिवसः मासिँदै सिमसार क्षेत्र

२०८० माघ १९, शुक्रबार १३:५० ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

विराटनगर । विभिन्न कारणले सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेका सिमसार र रामसार क्षेत्रहरु अतिक्रमणमा परेका छन् । अतिक्रमणका कारण ती क्षेत्र खुम्चिँदै गएका छन् । सिमसार क्षेत्र मासिने जोखिम बढेपछि यस क्षेत्रको वातावरणमा प्रतिकूल असर परिरहेको छ । वातावरण र वन्यजन्तुलाई जोगाउन सिमसार क्षेत्रको संरक्षणमा ध्यान दिनुपर्ने सरोकारवाला बताउँछन् । वातावरण सन्तुलित बनाइराख्ने साथै दुर्लभ चराचुरुङ्गीहरुको मुख्य विचरण क्षेत्र सिमसार मासिँदा चरा आगमन पनि प्रभावित बनेको छ । धेरैजसो सिमसार क्षेत्रहरु जलकुम्भी झारले ढाकिएका छन् । यसले गर्दा चराहरुले आहारा प्राप्त गर्न समस्या हुने गरेको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा विभिन्न मुलुकबाट चरा आउने गर्छन् । दुर्लभ चराहरुको बासस्थान मानिने कोशीटप्पु र आसपास क्षेत्रमा जाडो याममा साइबेरिया, चीनलगायत मुलुकबाट चराहरु आउने गरेका छन् । सिमसारहरु सफाइ गर्ने, पानी निरन्तर उपलब्ध हुने व्यवस्था गर्ने जस्ता काम आवश्यक रहेको चरा संरक्षणमा सक्रिय संस्थाका प्रतिनिधिहरुको भनाइ छ । आरक्ष क्षेत्रमा संरक्षणको काम गर्नका लागि ठूलो परिमाणमा बजेट आउने गरे पनि संरक्षणको काम भने प्रभावकारी हुन नसकेको सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीको भनाइ छ ।

नेपालमा ३२७ वटा ताल तथा सिमसार क्षेत्र रहेको तथ्यांक छ । तीमध्ये उच्च पहाडी क्षेत्रमा ७८, मध्य पहाडी क्षेत्रमा ८६ र तराईमा १६३ वटा पर्छन् । नेपालमा रहेका नौवटा रामसार क्षेत्रमध्ये कोशीटप्पु वन्यजन्तु आरक्षमा पर्ने कोशी नदीको बाँध क्षेत्र र आसपास क्षेत्र महत्वपूर्ण मानिन्छ । सुनसरी, सप्तरी र उदयपुरको बीचमा पर्ने आरक्ष क्षेत्रमा ४५० प्रजातिका माछा, विभिन्न दुर्लभ प्रजातिका चरा र वन्यजन्तु पाइने बराहक्षेत्रका सिमसार र चरासम्बन्धी जानकार भीष्म अधिकारी बताउँछन् ।

सिमसार क्षेत्रहरुमा स्थानीय माझीहरुले माछा मार्ने, कतिपयले विषादी समेत हाल्ने गरेकाले चराहरु संकटमा पर्ने गरेको आरक्षका अधिकारीहरुको भनाइ छ । माछा मारेर जीविकोपार्जन गर्ने माझीहरुले भने आफूहरुको जीवनयापनका लागि वैकल्पिक व्यवस्था गरिदिए सिमसार क्षेत्रको भर पर्नु पर्ने अवस्थाको अन्त्य हुने जनाएका छन् । कोशीटप्पु माझी संघका अध्यक्ष बलराम माझी माछा मारेर गुजारा गर्नेहरुका लागि वैकल्पिक व्यवस्था गरिदिए सिमसार क्षेत्रमा चाप घट्ने बताउँछन् ।

केही वर्ष अघिको तुलनामा अचेल उल्लेख्य संख्यामा भने चराहरु देखिएका छैनन् । आरक्ष क्षेत्रमा रहेका सिमसारहरु सुक्दै जानु, चराको आहारा र बासस्थान मासिनु जस्ता कारणले चरा आगमन प्रभावित भएको स्थानीय जानकारहरुको भनाइ छ । नेपालमा ८ सय ८८ प्रजातिका चरा पाइने गरेको तथ्यांक छ । तीमध्ये कोशीटप्पु आरक्ष क्षेत्रमा मात्रै ५ सय २३ भन्दा बढी प्रजातिका चराहरु पाइन्छन् । हाँसका मात्र ३४ प्रजाति नेपालमा पाइन्छ । यस क्षेत्रमा विश्वमै संकटापन्न सूचीमा रहेका २९ प्रजातिका चरा पाइन्छन् ।

सिमसार क्षेत्र मासिँदै गएपछि चरा आउने क्रम प्रभावित हुँदा आरक्ष क्षेत्रमाम चरा र वन्यजन्तु अवलोकन तथा अध्ययन गर्न देश तथा विदेशका अनुसन्धाताहरुको आउने क्रम पनि पातलिएको छ । २०६५ भदौ २ गते कोशी गाउँपालिकाको पश्चिम कुसाहा–४ मा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएपछि पनि चराको बासस्थानहरु प्रभावित भएका थिए । त्यस बेला कतिपय सिमसार क्षेत्र पनि मासिएका थिए ।

सिमसार क्षेत्रको संरक्षण गर्दै वातावरण जोगाउन तीनै तहका सरकारहरुको सक्रियता आवश्यक देखिएको छ । संरक्षणको कामलाई बेवास्ता गरे दुर्लभ वन्यजन्तु मासिनुका साथै वातावरणमा नकारात्मक असर बढ्दै गएर मानिसहरु पनि जोखिममा पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय