काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनका लागि संस्थापन इतर समूहले अध्यक्षसहित चार मुख्य पदाधिकारीको नाम टुंगो लगाएको छ । थापागाउँस्थित कार्यालयमा जारी छलफलबाट अध्यक्षमा ईश्वर पोखरेल, एक उपाध्यक्षमा गोकर्ण विष्ट, महासचिवमा सुरेन्द्र पाण्डे र एक उपमहासचिवमा योगेश भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।
पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने निर्णयले आकांक्षी व्यवस्थापनमा सहज भएको बताउँदै इतर समूहले अन्य पदहरूमा पनि उम्मेदवार टुंग्याउने प्रक्रियालाई तीव्रता दिएको छ ।
उपाध्यक्षका लागि परशुमेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपालको नाममा छलफल भइरहेको छ भने सचिव पदमा कृष्णगोपाल श्रेष्ठ, गोकुल बाँस्कोटा, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का लगायतलाई उम्मेदवार बनाउने तयारी छ ।
संस्थापन (ओली) समूहमा आकांक्षी धेरै हुँदा व्यवस्थापनमा सकस परिरहेकाले त्यहाँबाट असन्तुष्ट हुने नेताहरूलाई समेत आफ्नो प्यानलमा समेट्ने रणनीति इतर पक्षले बनाएको छ ।




