काठमाडौं । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको सरुवा गरेको छ। आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागिरहेका दुवाडीलाई हटाएर रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकिएको हो।
जेनजी आन्दोलन दमनमा गृह प्रशासनको नेतृत्व गरेका दुवाडीमाथि छानबिन हुनुपर्ने माग उठिरहेका बेला सरकारले उनलाई जिम्मेवारीबाट हटाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, दुवाडीसहित तीन जना सचिवको सरुवा गरिएको छ।
सरुवा गरिएका सचिवहरूमा गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव रामेश्वर दंगाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याल रहेका छन्।
गृहसचिव रहेका दुवाडीलाई राष्ट्रिय योजना आयोगमा पठाइएको छ भने उनको स्थानमा रक्षासचिव रामेश्वर दंगाललाई ल्याइएको छ। यस्तै, रक्षासचिवमा राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याललाई पठाइएको छ।
यो सरुवालाई जेनजी आन्दोलनका क्रममा गृह प्रशासनको भूमिकालाई लिएर उठेका प्रश्नहरूको सम्बोधनका रूपमा हेरिएको छ।




