काठमाडौं । जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट ठूलो क्षति भोगेको भाटभटेनी सुपरमार्केटले पुनः उठ्ने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीले एक फेसबुक पोस्टमार्फत आफ्ना ग्राहक र शुभचिन्तकहरूलाई धन्यवाद दिँदै यो कठिन समयमा पनि आशा नगुमाएको बताएको छ।
भाटभटेनीले आफ्नो पोस्टमा लेखेको छ, “दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन। आज हाम्रो पसल ध्वस्त भए पनि, तपाईंहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं।” कम्पनीले क्षतिपछि सरसफाइ र पुनर्निर्माणमा सहयोग पुर्याउने हजारौँ सहयोगी हातहरूको पनि प्रशंसा गरेको छ।
यसअघि धरानको भाटभटेनीमा जलेको अवस्थामा एक शव फेला परेको थियो भने तीन जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। यो दुःखद घटनाका बाबजुद भाटभटेनीले आफ्नो सेवालाई निरन्तरता दिने र पुनर्निर्माण गरी अझ सशक्त रूपमा फर्कने दृढता व्यक्त गरेको छ।




