काठमाडौं । जेनजी नेपालले अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वका लागि नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको नाम प्रस्ताव गर्ने निर्णय गरेको छ। एक विज्ञप्ति जारी गर्दै जेनजीको एक समूहले भ्रष्टाचारको अन्त्य, बेथिति नियन्त्रण र सुशासन कायम गर्ने आन्दोलन अभूतपूर्व सफलताको नजिक पुगेको र जेनजी समर्थित अन्तरिम मन्त्रिपरिषद् गठन भएसँगै यसको निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेको छ। विज्ञप्तिमा प्रधानमन्त्री पदका लागि भएका प्रारम्भिक छलफल र त्यसक्रममा विभिन्न व्यक्तित्वहरूको नाममा भएको विचार-विमर्शबारे पनि उल्लेख गरिएको छ। प्रारम्भमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई योग्य उम्मेदवार मानिए पनि उनले यस प्रक्रियामा रुचि नदेखाएका कारण अन्य विकल्प खोजिएको जेनजी नेपालले जनाएको छ।
त्यस्तै, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नाममा पनि छलफल भएको तर, सबैलाई नेतृत्व गर्न सक्ने सम्भावना कम देखिएकाले उनको नाममा सहमति जुट्न नसकेको विज्ञप्तिमा उल्लेख छ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा हिजोको भर्चुअल छलफलमा समर्थन प्राप्त भए पनि संविधानअनुसार न्यायाधीशहरू यो पदका लागि योग्य नहुने र उमेरको हदबन्दी पार भइसकेका कारण उनको नाम अस्वीकृत गरिएको जेनजी नेपालले स्पष्ट पारेको छ।
यी सबै विकल्पहरूमा छलफल पछि, जेनजी नेपालले देशमा सुशासन र विकासको एजेन्डालाई अगाडि बढाउन सक्ने क्षमता भएको भन्दै कुलमान घिसिङलाई अन्तरिम सरकारको नेतृत्वमा प्रस्ताव गर्ने निर्णय गरेको हो। यस प्रस्तावले नेपालको राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गर्ने निश्चित छ।




