सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध पत्रकारहरू माइतीघरमा, अभिव्यक्ति स्वतन्त्रताको माग

२०८२ भाद्र २२, आईतवार १६:१५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध आइतबार पत्रकारहरूले काठमाडौंको माइतीघर मण्डलामा सशक्त प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघको आह्वानमा आयोजित प्रदर्शनमा सहभागी पत्रकारहरूले अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा ‘नो ब्यान’, ‘अभिव्यक्ति स्वतन्त्रता हाम्रो अधिकार’, ‘जनताको आवाज बन्द गर्न पाइँदैन’, ‘लोकतन्त्र ह्याक हुँदै छ’, ‘निरंकुशता ब्याक हुँदै छ’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए । विभिन्न मिडियामा आबद्ध सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
यसअघि, पत्रकार महासंघका पूर्वपदाधिकारी एवं सदस्यहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको कदमको आलोचना गरेका थिए । शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘दर्ता नभएको बहानामा सामाजिक सञ्जालमाथि लगाइएको यो प्रतिबन्धले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुगेको हाम्रो ठहर छ ।’
सरकारले पटक-पटक सूचना जारी गर्दा पनि अटेरी गरेको भन्दै गत बिहीबारदेखि नेपालमा सूचीकरण नभएका फेसबुक, एक्स (ट्विटर), युट्युब लगायतका २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गरेको थियो । सरकारको यो कदमले नागरिकको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएको भन्दै चौतर्फी विरोध भइरहेको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार