काठमाडौं । विद्यालय शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले नेपाल शिक्षक महासंघले आज राजधानीका पाँच फरक–फरक पार्टी कार्यालय अगाडि धर्ना कार्यक्रम गर्ने भएको छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका अनुसार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म हुने धर्नामा सहभागी भई ऐक्यबद्धता जनाउन सबै शिक्षकहरूलाई आह्वान गरिएको छ।
कार्यक्रमअनुसार बबरमहलस्थित लोकतान्त्रिक समाजवादी पार्टी कार्यालयमा सुवेदी स्वयं संयोजक हुनेछन् । त्यस्तै, जनमत पार्टी बानेश्वरमा सहअध्यक्ष नानुमाया पराजुली, जनता समाजवादी पार्टी ग्वार्को, ललितपुरमा उपाध्यक्ष पुष्प कुँवर, नागरिक उन्मुक्ति पार्टी बानेश्वरमा महासचिव तुलाबहादुर थापा र राष्ट्रिय जनमोर्चाको कपनस्थित कार्यालयमा सचिव कल्पना पनेरु संयोजक रहनेछन्।
महासंघले विद्यालय शिक्षा विधेयकसम्बन्धी मागलाई सम्बोधन गर्न सरकारलाई निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएको जनाएको छ।




