शिक्षक महासंघद्वारा पेरिसडाँडामा धर्ना, विधेयक नसच्चिए थप आन्दोलनको चेतावनी

२०८२ भाद्र १३, शुक्रबार १४:०८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत नेपाल शिक्षक महासंघले आज नेकपा  माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा धर्ना दिएको छ। सरकारले आफूहरूसँग विगतमा गरेको सहमति पूर्णरूपमा सम्बोधन नभएको भन्दै विधेयक सच्याउन दबाब दिन महासंघले प्रमुख राजनीतिक दलका कार्यालयहरूमा धर्ना दिने कार्यक्रम अन्तर्गत माओवादी केन्द्रको कार्यालयमा धर्ना दिएको हो।
महासंघले यसअघि नेपाली काँग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा पनि धर्ना दिइसकेको छ। पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आज बिहान ११:०० बजेदेखि दिउँसो १:०० बजेसम्म २ घण्टा माओवादी केन्द्रको कार्यालयमा धर्ना दिई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको थियो।
शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले महासंघसँग भएको ९ बुँदे सहमति पूर्णरूपमा कार्यान्वयन हुन नसकेकाले पुनः आन्दोलनमा जानुपरेको बताइन्। उनले प्रतिनिधि सभामा पेस भएको विधेयकले शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयहरू अझै पनि सम्बोधन गर्न नसकेको गुनासो गरिन्।
पराजुलीले विधेयकमा रहेका असहमतिका बुँदाहरूलाई प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट सम्बोधन गर्न राजनीतिक दलहरूले सहयोग गर्ने विश्वास महासंघले लिएको बताइन्। यदि आफ्ना माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारीमा शिक्षक महासंघ रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार