काठमाडौं । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा पक्राउ परेका मिलन गुरुङ ‘चक्रे मिलन’लाई भक्तपुर जिल्ला अदालतले पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले शुक्रबार भएको थुनछेक बहसपछि उनलाई १ लाख १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रवक्ता डीएसपी ढुण्डिराज न्यौपानेले अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणपछि उनलाई रिहा गर्ने तयारी भइरहेको जानकारी दिए।
यसअघि अभद्र व्यवहारको मुद्दामा काठमाडौं जिल्ला अदालतले बुधबार उनलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। काठमाडौंबाट रिहा भएलगत्तै प्रहरीले उनलाई भक्तपुरमा दर्ता भएको कुटपिटसम्बन्धी मुद्दाको अनुसन्धानका लागि नियन्त्रणमा लिएर भक्तपुर पठाएको थियो। बिहीबार पेसी तोकिए पनि अदालतले ‘नभ्याएपछि’ उनको बयान र थुनछेक बहस शुक्रबार भएको थियो। शुक्रबारकै बहसपछि अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो।




