काठमाडौं । पवित्र तीर्थस्थल पशुपति आर्यघाटमा शव दहनका क्रममा चिताबाटै मासु र हड्डी चोरी हुने गरेको एक अनौठो र कहालीलाग्दो घटना सार्वजनिक भएको छ। चोरी गरिएको मासु र हड्डी ‘मसान जगाउन’ जस्ता तान्त्रिक क्रिया गर्ने अघोरी बाबाहरूलाई बेच्ने गरिएको प्रारम्भिक आशंकापछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। यो रहस्यमय घटना मलामीको उजुरीपछि बाहिर आएको हो। मलामीको उजुरीका आधारमा प्रहरीले शुक्रबार आर्यघाटमा शव दहन गराउने काममा संलग्न घाटे गणेश ढकाललाई पक्राउ गरेको छ। काभ्रेको बनेपाका मृतक राम शाहीको अन्त्येष्टिका क्रममा ढकालले चिताबाट मासुको टुक्रा झिकेर अर्को व्यक्तिलाई दिएको देखेपछि मलामीले तत्काल प्रहरीलाई खबर गरेका थिए।
प्रहरी सोधपुछका क्रममा ढकालले आफूले मासु नभई हड्डी झिकेको स्वीकार गरे पनि उनले उक्त हड्डी कसलाई र किन दिए भन्नेबारे स्पष्ट जवाफ दिएका छैनन्। ढकालमाथि मृतकको मासुको टुक्रा पाँच सय रुपैयाँमा जोगीजस्तो देखिने एक व्यक्तिलाई बेचेको आरोप छ, जसमा सय रुपैयाँ सहयोगीलाई र चार सय रुपैयाँ आफैँले राखेको बताइएको छ। यद्यपि, ढकालले पैसा लिएको कुरा भने अस्वीकार गरेका छन्।
यस अनौठो प्रकृतिको अपराधमा कुन कानुनी प्रावधान आकर्षित हुन्छ भन्ने विषयमा प्रहरीसमेत अस्पष्ट रहेको छ। प्रहरीले अनुसन्धानको निष्कर्षपछि कानुन व्यवसायी तथा सरकारी वकिलसँग परामर्श गरेर आवश्यक कारबाही अघि बढाउने बताएको छ।
यसैबीच, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एआईजी चन्द्रकुवेर खापुङले शवबाट मासु र हड्डी चोरी हुनु सामान्य घटना नभएको र यसको अनुसन्धानका लागि कानुनी आधार तयार गर्नुपर्नेमा जोड दिनुभएको छ। प्रहरीले घाटे र तान्त्रिक क्रिया गर्ने अघोरी बाबाबीच मिलेमतो हुन सक्ने बलियो आशंकासहित अनुसन्धानलाई अघि बढाएको छ।




