कक्षा १२ को नतिजा प्रकाशित

२०८२ श्रावण १९, सोमबार २०:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको भर्खरै सकिएको बोर्ड बैठकले औपचारिकरूपमा नतिजा सार्वजनिक गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार परीक्षामा सहभागीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए ।

गत वैशाखमा देशभर सञ्चालित कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सहभागी थिए । नियमिततर्फ ३ लाख ९५ हजार र आंशिक १ लाख १५ हजार परीक्षार्थी छन् । ५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको थियो ।

जसमध्ये जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी पनि परीक्षामा सहभागी थिए । ७७ जिल्लामध्ये थोरै मनाङबाट ४५ जना र काठमाडौंबाट ६८ हजारले परीक्षा दिएका थिए । मनाङ/मुस्ताङमा १/१ वटा र काठमाडौंमा सबैभन्दा धेरै १ सय ६२ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

नेपाल शिक्षक महासंघको शैक्षिक हडतालसहितको काठमाडौं केन्द्रित सडक आन्दोलनले वैशाख ११ गतेदेखि तोकिएको परीक्षा १० दिन पछाडि सरेको थियो । जेठ २ गते परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण लगायतको काम सुरु भएको थियो ।

प्रत्येक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नतिजा प्रकाशनमा ननग्रेडिङ हुने लेटर ग्रेडिङ निर्देशिका २०७८ ले व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार