जनकपुरधाम । लामो समयदेखि पानी नपर्दा सुक्खा र खडेरीको मारमा परेका किसानहरूलाई राहत दिन मधेस प्रदेश सरकारले स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ । प्रदेश सरकारले रु १८ करोडको लागतमा किसानहरूलाई सिँचाइ सुविधा उपलब्ध गराउन यो योजना अघि सारेको हो ।
मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘सुक्खाक्षेत्र सहयोग कार्यक्रम’ अन्तर्गत प्रदेशका आठवटै जिल्ला (धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरी) का किसानलाई कूल एक हजार दुई सय स्यालो ट्युबवेल वितरण गर्ने योजना बनाएको छ ।
मन्त्रालयका प्रवक्ता सरोज चौधरीका अनुसार, सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रमार्फत किसानको आवश्यकता र प्राथमिकताका आधारमा ट्युबवेल वितरण गरिनेछ । उनका अनुसार पानीको सतहको गहिराइअनुसार एउटा स्यालो ट्युबवेल जडान गर्न रु एक लाखदेखि तीन लाखसम्म खर्च लाग्ने अनुमान छ ।
ट्युबवेलका लागि आवेदन दिन सातदिने सूचना जारी गरिएको छ । आवेदन दिन चाहने किसानले दुई बिघा खेतीयोग्य जमिनको लालपुर्जाको प्रमाणित प्रतिलिपि सम्बन्धित कृषि ज्ञान केन्द्रमा पेस गर्नुपर्नेछ ।
पानीको अभावका कारण मधेस प्रदेशमा हालसम्म करिब ५० प्रतिशत मात्रै धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ । यो योजनाले किसानहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।




