स्थानीय अन्न प्रवर्द्धनमा फेदीखोलाको ऐतिहासिक कदम: विद्यालयको खाजामा कोदो अनिवार्य

२०८२ श्रावण १५, बिहीबार ११:४० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा। स्याङ्जाको फेदीखोला गाउँपालिकाले स्थानीय अन्नको संरक्षण र प्रवर्द्धन गर्न एक उदाहरणीय निर्णय गरेको छ। पालिकाले आफ्ना सबै विद्यालयहरूमा हप्ताको कम्तीमा दुई दिन दिवा खाजामा कोदोबाट बनेका परिकार खुवाउन अनिवार्य गरेको हो।

यो ऐतिहासिक निर्णय आगामी साउन १६ गते, प्रथम राष्ट्रिय कोदो दिवसको अवसर पारेर लागू गरिनेछ। यससँगै अब विद्यालयका खाजामा ढिँडो, कोदोको मम, रोटी, हलुवा जस्ता पौष्टिक परिकारहरू समावेश हुनेछन्।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीका अनुसार, यो नीति विद्यालयमा मात्र सीमित नभई पालिकाका सबै सरकारी कार्यक्रम, सभा–समारोह र चमेना गृहमा समेत विस्तार गरिनेछ। कोदोको पोषण मूल्य, खाद्य सुरक्षा र कृषकको आयआर्जन बढाएर स्थानीय अर्थतन्त्रलाई बलियो बनाउनु यसको मुख्य लक्ष्य हो।
यो कदमलाई स्थानीय पहिचान, स्वस्थ जीवनशैली र आर्थिक आत्मनिर्भरतासँग जोडेर हेरिएको छ, जसले देशका अन्य स्थानीय तहका लागि पनि प्रेरणाको स्रोत बन्न सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार