अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलले खानेपानीको चरम सङ्कटको सामना गरिरहेको छ, जहाँ लाखौँ बासिन्दाको जीवन ३०० मिटर गहिरो खनिएको एउटै इनारको भरमा टिकेको छ। भूमिगत पानीको सतह नाटकीय रूपमा घटेपछि मानिसहरू १० लिटर पानीका लागि घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका छन्।
काबुलको पूर्वी भागमा हरेक बिहान सूर्योदय हुनुअघि नै सयौं मानिसहरू प्लास्टिकका खाली ब्यारेल बोकेर एउटा सानो पाइप वरिपरि भेला हुन्छन्। यो ३०० मिटर गहिरो इनार उनीहरूको एकमात्र ‘जीवन रेखा’ हो, जुन सतहका स्रोतहरू सुकेपछि समुदायले आफैँ खनेको हो। तर, यहाँबाट एक व्यक्तिले दुई दिनमा केवल एक ब्यारेल (करिब १० लिटर) पानी मात्रै पाउँछन्।
६२ वर्षीय हुसेन अली जस्ता हजारौं बासिन्दा हरेक केही दिनमा पानीको खोजीमा किलोमिटरौं हिँड्न बाध्य छन्। उनी भन्छन्, “पानी लिन चार घण्टासम्म लाइनमा बस्नुपर्छ। गत वर्षभन्दा पानीको उपलब्धता ५० प्रतिशतले घटेको छ।” पहिले ९० देखि १०० मिटरमै पानी भेटिने इनारहरू अहिले पूर्ण रूपमा सुकेका छन्।
संयुक्त राष्ट्रसंघको एक रिपोर्टअनुसार, काबुलले गम्भीर पानी संकटको सामना गरिरहेको छ र भूमिगत जलस्तर उल्लेखनीय रूपमा घटेको छ। यसले काबुलका ६० लाखभन्दा बढी बासिन्दालाई गम्भीर जोखिममा पारेको छ।




